हेटौँडा, हेटौँडामा विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फको आधिकारिक शोरुम ‘मोटो हब प्रा।लि।’ सञ्चालनमा आएको छ। कम्पनीले शनिबार पत्रकार सम्मेलनमार्फत वैशाख २७ गतेदेखि हेटौँडामा ट्रायम्फ मोटरसाइकलको बिक्री तथा सेवा औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो।
कम्पनीका प्रतिनिधि रवि कँडेल शर्माले ४०० सिसी क्षमताको ट्रायम्फ मोटरसाइकल धेरैले सोचेजस्तो अत्यधिक महँगो नभएको बताएका छन्। उनका अनुसार समान क्षमताका अन्य मोटरसाइकलहरूसँग तुलना गर्दा ट्रायम्फले दिने उत्कृष्ट राइडिङ अनुभव, माइलेज, आधुनिक प्रविधि, सुरक्षात्मक सुविधा तथा दीर्घकालीन मर्मत खर्चका आधारमा यो अझ किफायती र उपयोगी विकल्प बन्न सक्छ।
उनले ट्रायम्फ मोटरसाइकल आधुनिक प्रविधि, प्रिमियम डिजाइन, आरामदायी यात्रा र शक्तिशाली प्रदर्शनका कारण विश्वभर लोकप्रिय ब्रान्डका रूपमा स्थापित रहेको बताए। हेटौँडामा सञ्चालनमा आएको नयाँ शोरुममार्फत मोटरसाइकल बिक्रीसँगै सर्भिसिङ, स्पेयर पार्ट्स तथा ग्राहक सहायता सेवासमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सन् १९०२ मा बेलायतबाट स्थापना भएको ट्रायम्फ विश्वकै पुराना तथा प्रतिष्ठित मोटरसाइकल ब्रान्डमध्ये एक मानिन्छ। पछिल्लो समय नेपालमा मध्यम तथा प्रिमियम सेग्मेन्टका मोटरसाइकलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ। विशेषगरी ट्रायम्फका ‘स्पिड ४००’ र ‘स्क्र्याम्बलर ४०० एक्स’ मोडल नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्।
कम्पनीका अनुसार हेटौँडा तथा आसपासका ग्राहकलाई अब मोटरसाइकल खरिद वा सर्भिसिङका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ। यसले स्थानीय ग्राहकलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।






