हेटौँडा, मकवानपुरको १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती गाउँपालिकाले जितेको छ। बिहीबार सम्पन्न प्रतियोगितामा बागमती गाउँपालिकाले २५ स्वर्ण, १५ रजत र १२ कास्य पदकसहित समग्र च्याम्पियन बन्दै उपाधि आफ्नो नाम गरेको हो।
प्रतियोगितामा बकैया गाउँपालिकाले १६ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने हेटौँडा उपमहानगरपालिकाले १५ स्वर्ण, ६ रजत र १० कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ। गत वर्षको विजेता हेटौँडा यसपटक तेस्रो स्थानमा सीमित भएको हो। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि हेटौँडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रतियोगिता वर्षाका कारण एक दिन लम्बिँदै बिहीबार सम्पन्न भएको हो।
बुधबार भएको छात्रतर्फ भलिबलको फाइनलमा हेटौँडा उपमहानगरपालिकाले थाहा नगरपालिकालाई २५–२२, २५–१९, २०–२५, २२–२५ र १५–६ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो। त्यस्तै, छात्रतर्फ ३ हजार मिटर दौडमा मनहरी गाउँपालिकाका सन्दीप विक प्रथम, मनिक गोले द्वितीय र थाहा नगरपालिकाका हरिकृष्ण बल तृतीय भएका थिए। छात्रातर्फको ३ हजार मिटर दौडमा बागमती गाउँपालिकाकी रविना भोलन प्रथम, थाहा नगरपालिकाकी युनिसा लामा द्वितीय तथा मनहरी गाउँपालिकाकी वविता श्रेष्ठ तृतीय भइन्।
प्रतियोगिताका विजयी पालिका र खेलाडीलाई बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान तथा प्रदेश खेलकुद परिषद्का सदस्य अमृत लुम्बालगायतले रनिङ शिल्ड र पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्सका खेल समावेश गरिएको थियो। ९ वटा स्थानीय तहका २१० छात्रासहित ४५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा राक्सिराङ गाउँपालिकाले भने सहभागिता जनाएका थिएनन्।







