हेटौंडामा सडक विस्तार प्रभावितलाई सहुलियत ऋण

हेटौँडा, हेटौंडामा मंसिर २० गते शनिबार भएको सडक विस्तारका क्रममा घर–टहरा लगायतका संरचना भत्किएका प्रभावित परिवारका लागि हेटौंडा उपमहानगरपालिकाले सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने भएको छ ।

ADVERTISEMENT

पुनः आवास निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ। आइतबार बसेको नगर कार्यपालिकाको ७६औँ बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्न ९ बुँदे निर्णय गर्दै प्रभावित घरधनी तथा व्यवसायीको पुनर्स्थापनामा सहजीकरण गर्ने तयारी गरेको हो।

उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सविन न्यौपानेका अनुसार, व्यवसाय बन्द भएर विस्थापित हुनुपरेका व्यवसायीको लगत संकलन गरी व्यवसाय पुनः सञ्चालन नभएसम्मको अवधिका लागि व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेश गरिनेछ। त्यस्तै, नयाँ घर बनाउन बाध्य भएका प्रभावितलाई २,००० वर्गफुटसम्म नक्सापास दस्तुर छुट दिने प्रस्ताव पनि नगर सभामा लैजाने निर्णय भएको छ। सडक विस्तारका कारण जग्गा पूर्ण रूपमा समाप्त भई अन्यत्र आवास नहुने वास्तविक पीडितहरूको सूची वडा कार्यालयमार्फत संकलन गरी आवास व्यवस्थापनमा सहजीकरण गरिनेछ।

भवन निर्माण प्रक्रियालाई छरितो बनाउन उपमहानगरले ‘फास्ट ट्र्याक’ मार्फत नक्सापास र प्राविधिक सेवा उपलब्ध गराउने तथा घर निर्माण सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन सम्बन्धित आपूर्तिकर्तासँग समन्वय गर्नेछ।

सडक विस्तार भएको क्षेत्रमा सहरको पहिचान झल्किने एकरूप भवन मोडेल तयार पारेर कार्यान्वयनमा ल्याइनेछ। साथै, त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्न संघीय सरकारसँग अनुरोध गर्ने र मकवानपुर उद्योग वाणिज्य संघसहितका सरोकारवालासँग नियमित छलफल गरी बजार सेवामा अवरोध नआउने व्यवस्था मिलाइने प्रवक्ता न्यौपानेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *