विद्यार्थीलाई सीप सिकाउँदै हेटौँडा–४ नम्बर वडा कार्यालय

हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ ले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूका लागि व्यावसायिक सीपमूलक तालिम सुरु गरेको छ ।

ADVERTISEMENT

बिहीबार एक विशेष कार्यक्रमका बीच कपाल काट्ने, ब्युटी पार्लर र इलेक्ट्रिक तालिमको संयुक्त रूपमा उद्घाटन गरिएको हो । वडाका ७५ जना विद्यार्थीहरू सहभागी रहने यो तालिम जेठ र असार महिनाको शनिबार र आइतबार (बिदाको समय) मा सञ्चालन गरिनेछ । कार्यक्रमका प्रमुख अतिथि एवं वडा अध्यक्ष नवीन सिग्देलले विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीको फुर्सदको समयलाई उत्पादनमूलक बनाउन यो अभियान थालिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष एवं श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालले वडा कार्यालयको यो पहल देशकै लागि नमूना र नौलो हुन सक्ने बताउँदै विद्यार्थीहरूको उत्साहजनक चासो रहेको जानकारी दिनुभयो । यस्तै, भुटनदेवी माविका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले तालिमलाई जीवनोपयोगी बनाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । वडा सचिव रामप्रसाद गुरागाईँले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भुटनदेवी माविका सह-प्रधानाध्यापकहरू भरत पोखरेल, वेदराज कोइराला र सम्बन्धित विषयका प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *