बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हेटौँडा, बागमती प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते राति ११ः५९ बजेदेखि अधिवेशन अन्त्य गर्ने सिफारिस गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हो । प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माणको तयारीमा रहेकाले हिउँदे अधिवेशन अन्त्य गरेर जेठ महिनादेखि प्रि–बजेट छलफल सुरु गर्ने तयारी गरिएको उनले बताए ।

प्रदेश सरकारको सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकार आगामी बजेट अधिवेशनलाई लक्षित गर्दै प्रशासनिक तथा नीतिगत तयारीमा जुटेको जनाएको छ।

ADVERTISEMENT

यस्तै मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेश निजामती सेवा नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । प्रदेश निजामती ऐन, २०७९ जारी भएपनि लामो समयसम्म नियमावली नबन्दा कर्मचारी व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनमा अन्योल देखिँदै आएको थियो । सरकारले अब उक्त प्रक्रिया टुङ्गो लगाएको मन्त्री तामाङले जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा हाल काभ्रेपलाञ्चोकमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई हेटौँडामा स्थानान्तरण गर्ने निर्णय गरिएको छ । प्रदेशस्तरीय स्वास्थ्य सेवा तथा तालिम व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त निर्णय गरिएको सरकारको भनाइ छ ।

मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा वातावरण संरक्षण ऐन संशोधन विधेयक प्रदेशसभामा पठाउनुअघि मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरेको छ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधन गर्न बनेको विधेयक पनि थप अध्ययन तथा छलफलका लागि मन्त्रिपरिषद्को समितिमा पठाइएको प्रवक्ता तामाङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *