हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हुन लागेको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले भाद्र २४ गते (सोमबार)बाट हुने ११ ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गर्ने छिन् । हेटौंडा ५ स्थित क्याम्पा रंगशालाको खेल मैदानमा हुने प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएको रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल नागस्वती भेट्रान्स हेटौंडा र चितवन भेट्रान्स क्लवबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि नागस्वती भेट्रान्स हेटौंडा, चितवन भेट्रान्स क्लब, युनिटी भेट्रान्स विरगञ्ज, फिडम फाईटर भेट्रान्स काठमाडौं, हरिवन भेट्रान्स सर्लाही, हेटौंडा भेट्रान्स क्लव हेटौंडा, विरगञ्ज एकेडेमी भेट्रान्स, वगरभाई खलक भेट्रान्स पोखरा, रोटरी पिप्ले भेट्रान्स हेटौंडा, निजगढ भेट्रान्स बारा, एसएलकेसी भेट्रान्स काठमाडौँ, नवजनजागृति भेट्रान्स सिमरा, अभिषेक चर्च भेट्रान्स नवलपुर, सिमरा भेट्रान्स बारा, पूर्वेलि भेट्रान्स क्लव झापाले सहभागिता जनाएका छन् ।
४० वर्षदेखि माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता ११ ए साइडको हुनेछ । भाद्र ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको लागि मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका रहेको छ भने प्रथम पुरस्कार हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको उनले बताए ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा पिप्ले यूवा क्ल्ब सह आयोजक र रोटर्याक्ट क्लब अफ मकवानपुर सहयोगी संस्थाको रुपमा रहेको छ ।