हेटौँडा, हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयद्वारा विद्यार्थीहरूसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ । ४ नम्वर वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि हेटौँडा–४ बीच शैक्षिक वर्ष २०८३ देखि निरन्तर लागूहुने गरि यस्तो सम्झौता/प्रतिबद्वता भएको हो ।
सम्झौता/प्रतिबद्वता पत्रमा ४ वडा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी मावि हेटौँडा-४ को तर्फबाट प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र आधुनिक राष्ट्रिय मावि, हेटौँडा- ४ को तर्फबाट प्रधानाध्यापक रामसागर गुरागाईँले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा छात्रवृत्तिको मापदण्डमा अति विपन्न, दलित, सिमान्तकृत, द्वन्द पिडीत, भूमीहिन, अभिभावक विहिन, सडक बालबालिका साथै विशेष प्राथमिकताका क्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकुद, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता हासिल गर्ने छात्र/छात्रा उल्लेख गरिएको छ ।
दुवै विध्यालयमा १०/१०जना कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट र विद्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । विद्यालय यहि शैक्षिक वर्ष २०८३ देखि कार्यान्वयनमा ल्याउने, शैक्षिक वर्ष शुरूवातसंगै नवीकरण हुने सम्झौतामा उल्लेख गरिएको छ । आर्थिक अभाव कारणले विद्यार्थी पढाईबाट बच्चित नहोउन भन्ने मुख्य उद्देश्यले पुर्ण रूपमा निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो ।







