हेटौंडा, साधारणतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको छ । शुक्रबार ऐच्छिक द्वितीय विषयको परीक्षा सकिएसँगै साधारणतर्फ एसईई परीक्षा सकिएको हो । चैत १५ गतेबाट एसईई परीक्षा शुरू भएको थियो । प्राविधिक धारतर्फको परीक्षा भने यही चैत २७ गते मङ्गलबार सम्म सञ्चालन हुनेछ ।
यस बर्षको एसईई परीक्षा सदा झैं सहज र सौहाद्र्ध वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले बताए । परीक्षा सञ्चालन तथा व्यवस्थापनमा कुनै किसिमको असहजता व्यहोर्नु नपरेको उनले बताए । एसईई परीक्षाको लागि मकवानपुर जिल्लामा नियमित तर्फ ६ हजार १ सय ३३ जनाले फारम भरेका थिए ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागि २६ वटा परीक्षा केन्द्र तोकिएको थियो । जसमा बागमतीमा १, हेटौंडामा १४, मनहरीमा २, थाहानगरमा ३, मकवानपुरगढी १, बकैयामा २, भीमफेदीमा १, इन्द्रसरोवर १ र राक्सिराङमा १ वटा परीक्षा केन्द्र तोकिएको थियो । गत वर्ष मकवानपुर जिल्लामा २५ परीक्षा केन्द्र रहेकोमा यस वर्ष राक्सिराङको प्रजा जागृति माध्यमिक विद्यालयलाई नयाँ परीक्षा केन्द्र थप गरिएको थियो । मकवानपुर जिल्लाका १० वटा पालिकामध्ये कैलाश गाउँपालिकामा मात्रै परीक्षा केन्द्र तोकिएको थिएन ।
एसईई परीक्षा अन्तर्गत चैत १५ गते अनिवार्य अङ्ग्रेजी, चैत १६ गते अनिवार्य नेपाली, चैत १८ गते अनिवार्य गणित, चैत २० गते अनिवार्य विज्ञान तथा प्रविधि, चैत २१ गते अनिवार्य सामाजिक अध्ययन, चैत २२ गते ऐच्छिक प्रथम र चैत २३ गत ऐच्छिक द्वितियका विषयमा विद्यार्थीहरूले परीक्षा दिईएका थिए ।






