पाथीभरा मन्दिर क्षेत्रमा वृक्षारोपण

हेटौँडा, विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर जाने बाटो क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका १०० भन्दा बढी फूलका बिरुवा रोपिएका छन्।

ADVERTISEMENT

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यमा सीमित नभई भावी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान भएको बताइन्। वातावरण संरक्षणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उनले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले विशेष जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइन्। नगरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने अभियानमा उपमहानगरपालिका निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी व्यवहारिक रूपमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गरिएको बताए। उनले गत वर्ष विश्व वातावरण दिवस तथा अन्य अवसरमा यस क्षेत्रमा रोपिएका बिरुवाहरू स्थानीय समुदायको संरक्षण र अपनत्वका कारण राम्रो अवस्थामा रहेको उल्लेख गर्दै यस वर्ष थप क्षेत्रमा वृक्षारोपण विस्तार गरिएको जानकारी दिए।

ADVERTISEMENT

अधिकारीले वातावरण संरक्षण कुनै एक निकाय वा सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरे। रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय बासिन्दा, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरू प्रतिबद्ध रहेको उनले बताए। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ नगर निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा हेटौँडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौँडा–११ की वडा अध्यक्ष जुना दाहाल, उपमहानगरपालिकाको वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव तथा कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्यलगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *