हेटौँडा, हेटौँडा– ६ स्थित गौरिटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सातौँ खेलमा भक्तपुरले काठमाडौँलाई १ विकेटले पराजित गरेको छ। अन्तिम बलसम्म पुगेको प्रतिस्पर्धामा भक्तपुरले १३४ रनको लक्ष्य पूरा गर्दै जित निकालेको हो।पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल खडा गरेको थियो । काठमाडौँका लागि ऋत गौतमले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै ४० बलमा ६४ रन बनाए ।
यस्तै नितेश कुमारले ३१ बलमा ३२ रन बनाए भने धिराज देउवाले ११ बलमा ८ रन र उत्तम थापा मगरले १४ बलमा ७ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन नसक्दा काठमाडौँ ठुलो स्कोरतर्फ जान सकेन । भक्तपुरका बलरहरूले सुरुदेखि नै अनुशासित बलिङ गर्दै काठमाडौँको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए । भुपेन्द्र आचार्यले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । सुभाष खत्रीले ३ विकेट हात पार्दा सक्रियप्रताप कार्कीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । अविनाश बस्यालले आफ्नो चार ओभरको स्पेलमा कुनै विकेट नलिए पनि मात्र १४ रन खर्चेर निकै किफायती बलिङ गरे।
१३४ रनको लक्ष्य पछ्याएको भक्तपुरले पनि सहज सुरुआत गर्न सकेन। नियमित अन्तरालमा विकेट गुमाउँदा खेल अन्तिम ओभरसम्म रोमाञ्चक बनेको थियो । तर कठिन परिस्थितिमा पनि मध्यक्रमका ब्याटरहरूले जिम्मेवारीपूर्ण प्रदर्शन गर्दै टोलीलाई जितको नजिक पुर्याए।
भक्तपुरका लागि रिङजिन लामाले २८ बलमा ३७ रनको महत्त्वपूर्ण पारी खेले। सक्रियप्रताप कार्कीले १५ बलमा २५ रनको आक्रामक योगदान दिए भने अविनाश बस्यालले २३ बलमा १७ रन जोडे । खेलको अन्तिम चरणमा भुपेन्द्र आचार्यले दबाबकाबिच उत्कृष्ट ब्याटिङ गर्दै ८ बलमा अविजित १० रन बनाएपछि भक्तपुरले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर १३६ रन बनाउँदै रोमाञ्चक जित आफ्नो पक्षमा पार्न सफल भयो।
काठमाडौँका बलरमध्ये सन्दीप पराजुली सर्वाधिक सफल रहे । उनले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिँदै भक्तपुरको ब्याटिङलाई धराशायी बनाउने प्रयास गरेका थिए । नितेश कुमारले १ विकेट लिए भने दयानन्द मण्डल र सोनु देवकोटाले समान एक–एक विकेट हात पारे।
सन्दीप पराजुलीको उत्कृष्ट पाँच विकेटको प्रदर्शन पनि काठमाडौँलाई जित दिलाउन पर्याप्त बन्न सकेन । अन्तिम क्षणसम्म उतारचढावपूर्ण बनेको खेलमा भक्तपुरले संयम कायम राख्दै १ विकेटको रोमाञ्चक जित निकाल्यो।यस जितसँगै भक्तपुरले प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ भने काठमाडौँले लगातार दोस्रो हार बेहोरेको छ।







