बागमती प्रदेशमा १९१ कार्यालय मात्र कायम गर्ने सरकारको निर्णय

हेटौँडा, बागमती प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक पुनर्संरचना गर्दै प्रदेश मातहतका कार्यालयहरूको संख्या घटाएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आठ मन्त्रालयअन्तर्गत १९१ वटा कार्यालय कायम गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेशका अस्थायी तथा दोहोरो प्रकृतिका कार्यालयहरू हटाउने, केही कार्यालयहरूलाई एक आपसमा गाभ्ने (मर्ज गर्ने), आवश्यकताअनुसार नयाँ कार्यालय स्थापना गर्ने तथा केही कार्यालय खारेज गर्ने निर्णय गरिएको छ।

ADVERTISEMENT

हाल कायम रहेका २०१ वटा कार्यालयमध्ये पुनर्संरचनापछि १९१ वटा कार्यालय मात्र रहनेछन्। प्रदेश सरकारका अनुसार यस निर्णयले प्रशासनिक खर्च नियन्त्रण, कार्यसम्पादनमा प्रभावकारिता वृद्धि तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद् बैठकले उपसचिव स्तरका दुई कर्मचारीको बढुवा तथा पदस्थापनसम्बन्धी निर्णय पनि गरेको छ। स्वास्थ्य सेवातर्फ कार्यरत सागरप्रसाद घिमिरे र सतीश विष्टलाई ११औँ तहमा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता तामाङले जानकारी दिए।

त्यसैगरी, संस्कृति तथा पर्यटन मन्त्रालयको प्रस्तावमा र्‍याफ्टिङ स्कुल सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। यस निर्णयले प्रदेशमा साहसिक पर्यटन प्रवर्द्धन तथा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा तयार गरिएको ‘अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति, २०८३’ समेत स्वीकृत गरेको छ। उक्त नीतिले प्रदेशभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार संरक्षण, समान अवसर सुनिश्चितता तथा जीवनस्तर सुधारका लागि आवश्यक कार्यक्रम तथा कार्ययोजना कार्यान्वयनमा मार्गदर्शन गर्ने विश्वास गरिएको मन्त्री तामाङले बताए।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *