हेटौँडा, विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सम्मानित जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीहरूलाई खोजतलास तथा पक्राउ अभियानअन्तर्गत पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ निवासी २८ वर्षीय गौतम गुमाजु रहेका छन्। उनलाई लागूऔषध ओनेरेक्स सम्बन्धी मुद्दामा अदालतले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
यस्तै, हेटौँडा उपमहानगरपालिका–१० निवासी २५ वर्षीया रिजु कुमारी दाहाललाई लागूऔषध खैरो हेरोइन मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो। प्रहरीले दुवै प्रतिवादीलाई साउन २५ गते पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुर, हेटौँडामा बुझाइएको जनाएको छ।







