निर्वाचनको धक्काबाट एमाले फेरि उठ्छ : देवी ज्ञवाली

हेटौँडा, नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले निर्वाचन परिणामबाट पार्टीलाई लागेको धक्काको धैर्यपूर्वक सामना गर्दै नेकपा एमाले पुनः सशक्त रूपमा उठ्ने र अगाडि बढ्ने बताउनुभएको छ।

ADVERTISEMENT

मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा नेकपा एमाले मकवानपुरका सल्लाहकार परिषद्का तत्कालीन अध्यक्ष तथा पुराना कम्युनिस्ट नेता स्वर्गीय बलराम हुँमागाईँको प्रथम वार्षिक स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो।

उहाँले वर्तमान सरकारमाथि राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिविरुद्ध काम गरेको आरोप लगाउँदै छोटो समयमै जनअपेक्षाविपरीत गतिविधि गरेको टिप्पणी गर्नुभयो। सफलतामा उत्साहित र असफलतामा आत्तिने पार्टी एमाले नभएको उल्लेख गर्दै उहाँले सरकारको गलत नीति र व्यवहारका कारण जनता निराश बनेको दाबी गर्नुभयो।

ADVERTISEMENT

“हाम्रो देश र जनताप्रतिको निष्ठा, त्याग र समर्पणका आधारमा एमाले फेरि उठ्नेछ,” उहाँले भन्नुभयो।

ज्ञवालीले निरंकुश पञ्चायती व्यवस्थाको कठिन समयमा पार्टी संगठन विस्तारमा स्वर्गीय बलराम हुँमागाईँको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उहाँ काममा विश्वास गर्ने, पदप्रति लोभ नगर्ने र संगठनप्रति समर्पित व्यक्तित्व भएको बताउनुभयो।

कार्यक्रममा नेकपा एमालेका अर्का केन्द्रीय सदस्य रामेश्वर रानाले श्रमजीवी वर्गको हित, लोककल्याणकारी कार्य तथा सामाजिक–आर्थिक रूपान्तरणलाई पार्टीले सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले वर्तमान अवस्थामा राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि विभिन्न प्रकारका चुनौती देखिएको उल्लेख गर्दै जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न थप संगठन निर्माण र जनपरिचालन आवश्यक रहेको धारणा राख्नुभयो।

रानाले स्वर्गीय बलराम हुँमागाईँलाई असल कम्युनिस्ट नेता तथा समाजसेवीका रूपमा स्मरण गर्दै उहाँले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो।

त्यस्तै, नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले पार्टी कार्यकर्ताहरू एकताबद्ध भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै स्वर्गीय हुँमागाईँको आदर्श, निष्ठा र योगदानलाई अनुसरण गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य निर्मला देवकोटा, जिल्ला सचिव सीता विष्ट, जिल्ला सदस्यहरू विदुर हुँमागाईँ, मेम्बर लो, खिलप्रसाद चौलागाईं, रामजी सापकोटा, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष चेतनाथ खतिवडा तथा बलराम हुँमागाईँ फाउन्डेसनका अध्यक्ष एवं स्वर्गीय हुँमागाईँका जेठा छोरा विजय हुँमागाईँलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा स्वर्गीय हुँमागाईँका समकालीन मित्रहरू अर्जुन हुँमागाई, रोमप्रसाद न्यौपाने र हरि अधिकारीले उहाँको बाल्यकाल, राजनीतिक यात्रा, सामाजिक योगदान तथा व्यक्तित्वबारे स्मरण गर्नुभएको थियो।

कार्यक्रममा बलराम हुँमागाईँ फाउन्डेसनको तर्फबाट नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा भेटेरिनरी विषय अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थी गोकर्ण दाहाललाई नगद २० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो।

श्रद्धाञ्जली कार्यक्रम नेकपा एमाले मकवानपुरगढी गाउँपालिका कमिटीका अध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *