हेटौँडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जारी छैटौँ संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार सम्पन्न क्वार्टरफाइनल खेलसँगै पाखुरे युवा क्लब, कुर्दन एकेडेमी चन्द्रागिरी, चित्लाङ एफसी र आयोजक शिखर क्लब अन्तिम चारमा पुग्न सफल भएका छन्।
थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौरमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएका क्वार्टरफाइनल खेलमा चित्लाङ एफसी र कुर्दन एकेडेमी चन्द्रागिरी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्। पहिलो क्वार्टरफाइनल खेलमा चित्लाङ एफसीले थाहा सक्रिय युवा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। चित्लाङको प्रभावशाली जितमा शुभराज गोलेले एक गोल, सन्देश गोम्बाले दुई गोल तथा कृष मालीले एक गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका शुभराज गोले खेलको म्यान अफ द म्याच घोषित भए।
त्यसैगरी दोस्रो क्वार्टरफाइनल खेलमा कुर्दन एकेडेमी चन्द्रागिरीले पारिजात स्मृति चित्लाङलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। कुर्दनको जितमा सुजित बुढाथोकी र अविरल रिजालले समान एक–एक गोल गरे। उत्कृष्ट प्रदर्शनका लागि सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए। अब शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा पाखुरे युवा क्लब र कुर्दन एकेडेमी चन्द्रागिरीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा चित्लाङ एफसी र आयोजक शिखर क्लब आमनेसामने हुनेछन्। दुवै खेललाई उपाधि यात्राका लागि निर्णायक मानिएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १२ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता ९हाइ स्कोरर० लाई जनही ६ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।






