हेटौंडा, विपदबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार र राहतमा मात्र निर्भर नभई पूर्वतयारी, प्रभावकारी पूर्वसूचना प्रणाली र तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवस २०२६ का अवसरमा मंगलबार हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा वक्ताहरूले जोखिम पहिचान, नागरिक सचेतना र सुरक्षित पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विपद् व्यवस्थापनमा पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा ठूलो स्रोत खर्च गर्नुभन्दा विपद् आउनुअघि नै जोखिम न्यूनीकरणका उपाय अपनाउनु प्रभावकारी हुने उल्लेख गर्नुभयो । आधुनिक प्रविधिबाट पूर्वसूचना प्राप्त भए पनि नागरिकमा चेतनाको कमी, लापरवाही र सरकारी सूचनालाई बेवास्ता गर्ने प्रवृत्तिले जोखिम बढाएको उहाँको भनाइ थियो ।
स्थानीय तहलाई विपद् व्यवस्थापनको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै अधिकारीले वडादेखि टोल र घरपरिवारसम्म जोखिम पहिचान तथा सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । तीनै तहका सरकार र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय हुन सके मात्रै विपद् जोखिम न्यूनीकरणका प्रयास सफल हुने उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले विपद् जोखिम न्यूनीकरणमा सरकारी प्रयाससँगै नागरिकको जिम्मेवार व्यवहार आवश्यक रहेको बताउनुभयो । पूर्वसूचना प्राप्त हुँदाहुँदै पनि बाढीपहिरो हेर्न जाने तथा जोखिमयुक्त क्षेत्रमा तस्बिर र भिडियो खिच्ने प्रवृत्तिले जनधनको क्षति बढाउन सक्ने उहाँले बताउनुभयो । जलवायु परिवर्तनका कारण बढिरहेका प्राकृतिक विपद्को क्षति न्यूनीकरण गर्न स्थानीय तहको भूमिका प्रभावकारी बनाउनुपर्ने र अन्तर्राष्ट्रिय सहयोग तथा क्षतिपूर्तिको विषयलाई समेत प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, बागमती प्रदेश समितिकी पूर्वअध्यक्ष आरती पाठकले जोखिमयुक्त क्षेत्रको जानकारी नागरिकसम्म पुर्याउँदा स्थानीय अवस्थालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विपद्का समयमा सूचना प्रवाहमा संलग्न व्यक्तिको सुरक्षा, पूर्वाधार निर्माणको आवश्यकता, वातावरणीय प्रभाव र दीर्घकालीन व्यवस्थापनलाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक कृष्णप्रसाद दाहालले विपद् व्यवस्थापनसम्बन्धी तथा इन्द्रसरोवर गाउँपालिकाका योजना अधिकृत एवं विपद् फोकल पर्सन सुरेश न्यौपानेले जोखिम न्यूनीकरण र पूर्वतयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । न्यौपानेले गाउँपालिकामा सञ्चालन भइरहेका विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा व्यवस्थापनका गतिविधि र योजनाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव बुद्धशरण लामा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका मानव अधिकार अधिकृत जयशोर चापागाईं र इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेललगायतले विपद् व्यवस्थापन, मानव अधिकार संरक्षण तथा नागरिक समाजको भूमिकाबारे धारणा राख्नुभएको थियो ।
गैरसरकारी संस्था महासंघ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा भएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय मकवानपुर र इन्सेक बागमती प्रदेश कार्यालयको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा जोखिमयुक्त संरचनाको व्यवस्थापन, सुरक्षित पूर्वाधार निर्माण र पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयनलाई व्यवहारमा उतार्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।






