तीनदिने नमूना संयुक्त राष्ट्र संघीय सभा सुरु

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा नमूना संयुक्त राष्ट्र संघीय सभा आजबाट सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थाको अवधारणा बुझाउन अभ्यासमा आधारित भई कार्य गरिने छ ।

हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले कार्यक्रम उद्घाटन गर्दै

नमूना संयुक्त राष्ट्र संघीय सभाकी महासचिव रेजा बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै रिमालले शैक्षिक सिकाइसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सिर्जनशील क्षेमताको विकासमा सहयोग पु¥याउनेमा जोड दिए । नवोदय विद्यालयले आयोजना गरेको नमूना संयुक्त राष्ट्र संघीय कार्यक्रमले प्रविधिमैत्री, अनुसन्धनात्मक सिकाइको विकास हुने रिमालले बताए ।

यसैगरी प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले नमूना संयुक्त राष्ट्र संघीय सभा कार्यक्रमले विद्यार्थीको तार्किक क्षेमता, नेतृत्व विकासमा सहयोग पुग्ने बताएका छन् । ‘विद्यार्थीहरुले विभिन्न एजेन्डामा रही छलफल हुने भएकोले गर्दा प्यानल छलफलबाट निश्कर्ष निकाल्न मद्दत मिल्दछ ।’ उनले भने –‘छलफलबाट एउटा कार्यपत्र निर्माण हुन्छ । निर्माण भएको कार्यपत्र हेटौंडा उपमहानगरपालिकामा बुझाउनुहोस् ।’

नवोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले संयुक्त राष्ट्र संघको चुनौती र अवधारणाको बारेमा विद्यार्थीसमक्ष प्रस्तुत गरेका थिए । ‘एक व्यक्तिले एक रुख रोप्नु पर्छ।’ जोशीले भने –‘एक व्यक्तिले एक रुख नरोपेमा मानव जाती नै सखाप हुनेछ ।’ नमूना महासभामा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्, आर्थिक र वित्तीय मामिला परिषद्, खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघीय पर्यावरणलाई प्रमुख एजेन्डामा रही छलफल गर्नेछन् । नमूना महासभामा सहभागी हुँदा विद्यार्थीले कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रसंघमा मुलुकको प्रतिनिधित्वका विषयमा बुझ्न पाउनेछन् ।

नमूना महासभा बैठकका साथै सामाजिक सन्ध्या तथा विविध मनोरञ्जनात्मक क्रियाकलापको पनि आयोजना हुनेछ । नमूना महासभामा हेटौंडा एकेडेमी विद्यालय, तुलसी मेहर विद्यालय, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, मकवानपुर बाल विद्या सदन, ब्रहमदिक एकेडेमीका विद्याथीको सहभागिता रहेको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम मकवानपुरका सन्तोष कर्ण, हेटौंडा ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button