फागुन १५ गतेबाट हेटौंडामा अल नेपाल नोभिस बक्सिङ हुने

हेटौंडा, आगामी फागुन १५ गतेबाट हेटौंडामा अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सञ्चालन हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा फागुन १५ देखि २० गतेसम्म नोभिस बक्सिङ प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । हेटौंडा–४ स्थित कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिताको लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

ADVERTISEMENT

नेपाल बक्सिङ संघको तत्वाधानमा हुन लागेको प्रतियोगितामा २०५९ बैशाख १ गतेदेखि २०६२ चैत्र ३० गतेसम्म जन्मिएका र बक्सिङ संघको आयोजनामा भएको औपचारिक प्रतियोगितामा सहभागिता नजनाएका नयाँ खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । पुरुषतर्फ ९ र महिलातर्फ ८ वटा तौल समूहमा खेल सञ्चालन हुनेछ । प्रतियोगिताको प्रत्येक तौल समूहका विजेता, उपविजेता तथा सेमिफाइनलमा पराजित हुने दुईजना खेलाडीले क्रमशः नगद १०, ५ र ३ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीलाई बक्सिङ ग्लोब्ससहित नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । यसअघि कुनै खेल नखेलेका नयाँ खेलाडीलाई मौका दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य धनकुमार मैनालीले जानकारी दिए ।

प्रतियोगितामा करिब १५८ जना खेलाडी र ३० जना निर्णायक सहभागी हुनेछन् । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दिपेश जोशीले बताए । ‘प्रतियोगितामा २१ वर्ष मुनिका खेलाडी मात्र सहभागी हुन पाउनेछन्’, उनले भने, ‘प्रदेशबाट प्राप्त बजेट नपुगेको अवस्थामा स्थानीय प्रायोजकमार्फत् खर्च जुटाउने छौं ।’ नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले यस प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले फाइनलमा पुग्ने मकवानपुरका बक्सिङ खेलाडीलाई जनही ३ हजार रुपैयाँ आफ्नो व्यक्तिगत तर्फबाट पुरस्कार दिने घोषणा गरे । मकवानपुर जिल्ला बक्सिङ संघका प्रशिक्षक लालबहादुर पौडेलले अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगिताले नयाँ खेलाडीहरुलाई थप उर्जा पैदा हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *