हेटौंडा, जेसीआई बसामाडीको आयोजनामा हेटौंडामा सञ्चालन भएको २१ औँ स्व.लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबलको उपाधी छहारी युवा क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा नारायणी कलेजलार्ई २५–१९, २५–१९ र २५–१८ को सोझो सेटमा पराजित गर्दै छहारीले उपाधि जितेको हो । सेमीफाइनलमा नारायणी कलेजले थाहा नगरपालिकालाई ३–२ को सेटमा र छहारीले आग्रा स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद ६० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा नारायणी कलेजका विष्णु बस्नेत उत्कृष्ट खेलाडी, छहारीका विवश आले मगर उत्कृष्ट सेटर र छहारीकै हिमाल सुनारी उत्कृष्ट स्पाइकर घोषित भए । प्रतियोगितामा अनुशासित टिम नागरिक सचेत युवा समाज घोषित भएको छ । विजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, आयोजक शाखाका अध्यक्ष जनक भण्डारी लगायतले पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगितामा मकवानपुरका १३ वटा क्लवहरुले सहभागिता जनाएका थिए । जिल्लामा भलिबल खेलको विकाससँगै खेलाडीहरुमा भातृत्वको सम्बन्ध स्थापनाका लागि प्रतियोगितालाई निरन्तरता दिँदै आएको जेसीजका अध्यक्ष भण्डारीले बताए । आगामी वर्षहरुमा पनि यस प्रतियोगितालाई निरन्तरता दिइने बताइएको छ ।
प्रतियोगितालाई स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् । प्रतियोगिताको समापनमा विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।