हेटौंडा, १२ असार/लागूऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार हेटौंडामा प्रभातफेरी भएको छ । रिकभरिङ नेपाल बागमती प्रदेशको संयोजकत्वमा जिल्लामा लागूपदार्थको क्षेत्रमा कार्यरत पुर्नस्थापना केन्द्रहरु साथै सरोकारवाला संघ संस्थाहरुको उपस्थितिमा प्रभातफेरी कार्यक्रम भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, शिक्षा समन्वय इकाई कार्यालय हेटौडा, स्वास्थ्य कार्यालय, सामुदायिक प्रहरी उपसेवा केन्द्र, राष्ट्रिय टि.बी नेटवर्क, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका प्रमुख प्रतिनिधिको उपस्थितीमा प्रभातफेरी कार्यक्रम भएको हो ।
रिकभरिङ नेपाल बागमती प्रदेश उपाध्यक्ष निर्मल बिडारीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख ध्रुबबहादुर राउत लगायतको आतिथ्यता थियो । कार्यक्रममा कार्यक्रम संयोजक संदिप शाक्यले रिकभरिङ नेपालको अवाधारणा पत्र सम्पूर्ण सरकारी निकायका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका थिए । यस बर्षको लागूऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको नारा ‘मानवीय स्वास्थ्य संकटको बेला झन् लागूऔषध चुनौतीको गरौं सम्बोधन’ रहेको छ ।
दिवसकै अवसरमा आइतबार साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम भएको छ । बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यता तथा रिकभरिङका कार्यक्रम संयोजक संदिप शाक्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।







