हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को हालसम्ममा नयाँ ४८ योजना सम्पन्न गरेको छ । उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा २५८ योजनाको सम्झौता भएको थियो । बाँकी २१० योजना कार्यान्वयनको चरणमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आवको प्रथम चौमासिकको हालसम्ममा तीन किलोमिटर कङ्क्रिट सडक, चार कल्भर्ट, एउटा शैक्षिक पूर्वाधार, तीन गुम्बा, १० मन्दिर, एउटा तटबन्ध, १२ सामुदायिक भवन, एउटा मदरसा, चार उद्यानलगायत निर्माण भएका छन् । महानगरले आव २०७८ / ७९ मा जिम्मेवारी सरेर आएकामध्ये ८४ योजना सम्पन्न गरेको जनाएको छ ।
आव २०७९/८० मा बजेट पुस्तिकामा समेटिएका योजनाअनुसार हेटौंडा-१, लालझाडीको वाराही धाप र भटेटोल जाने तथा हेटौंडा १२ को केनाम टोल जाने सडक निर्माण सुरु गरेको छ । उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखाको पूर्वाधार विकास कार्यक्रमतर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरकफरक सिफारिस समितिले १३२ योजनाको अनुगमन तथा मूल्याङ्कन फरफारकका लागि सिफारिस गरेको छ। अन्य महाशाखाले गरेको नौ योजना अनुगमन गरी भुक्तानीका लागि सिफारिस गरेको सो महाशाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । ।
महाशाखाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपमहानगरले हेटौंडाको चौकी टोलमा नयाँ तरकारी बजार निर्माणका लागि ३३ लाख ६६ हजार रुपियाँ र अन्य जिन्सी समान उपलब्ध गराएर हेटौंडा १० टीसीएनमा रहेको तरकारी बजार चार महिनाअगाडि स्थानान्तरणसमेत गराएको महाशाखा प्रमुख साहले बताए ।रासस







