हेटौंडा, हेटौंडाकै पुरानो सामुदायिक विद्यालय भूटनदेवी माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) मा मंगलबार अन्तरक्रिया कार्यक्रम भएको छ ।
शैक्षिक वर्ष २०८० सालको वार्षिक कार्ययोजना, शैक्षिक सुधार सुझाव संकलन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । विद्यालयको शैक्षिक स्तर सुधार गर्न विद्यार्थी, शिक्षक, अभिभावक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति सबैले आ–आफ्नो स्थानबाट रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि, संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिद्यालय प्रध्यानाध्यापक माधव प्रसाद दाहालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत गरेका थिए ।
नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा १० का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामा, गोविन्द दाहाल, जगन्नाथ पाण्डे, कृष्ण कँडेल, लक्ष्मी अधिकारी, बालकृष्ण दाहाल, प्रदिप कोइराला लगायतकाको सहभागिता रहेको थियो ।






