हेटौंडा, बागमती प्रदेश सरकारले विपद्बाट क्षती व्यहोरेका कृषकहरुलाई राहत वितरण गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा विपदवाट क्षति व्यहोरेका कृषकहरुलाई राहत वितरणका लागि निवेदन माग गर्दै सूचना जारी गरेको छ ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा क्षती व्यहोरेका कृषकलाई राहत वितरणका लागि निवेदन माग गरेको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आपतकालिन/आकस्मिक रोग/क्षति न्यूनिकरण कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा विपदवाट क्षति पुगेका कृषकलाई राहत वितरणको योजना अनुरुप मन्त्रालयले निवेदन माग गरेको हो ।
कृषि क्षेत्रमा विपदवाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०८० बमोजिम राहत वितरण गरिने उनले बताए । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी, कृषि तथा पशुपन्छी फर्महरुबाट आवश्यक कागजात सहित मन्त्रालय वा मातहतका कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।
कार्यविधिको अनुसूची–३ अनुसारको निवेदन, विपद्बाट भएको क्षति यकिन हुने स्थानीयको रोहवरमा भएको प्रहरीको घटनास्थल मुचुल्काको सक्कल वा प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, क्षतिको मूल्याङ्कन हुने कृषि प्राविधिकको प्रमाणित प्रतिवेदन, पीडित कृषक/संस्थाको बैंक खाता नम्बर प्रष्ट देखिने चेकको फोटोकपी सहित उक्त राहत रकम दावी गर्न सम्बन्धित कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निवेदन दर्ता गर्न मन्त्रालयले भनेको छ ।
त्यस्तै राहत रकम लिनका लागि कृषकहरुले संस्थाको हकमा दर्ता र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रतिलिपी, कृषक/संस्थाको प्यान/भ्याट नम्बर, सम्बन्धित स्थानीय तहको सिफारिस, कार्यालयको सफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, क्षति देखिने फोटो/दृष्य/वृत्तचित्र, विमा गरेको वा नगरेको स्थानीय तहको सिफारीस, अन्य निकायवाट राहत नलिएको स्थानीय तहको सिफारीस, विमा गरे नगरेको र राहत नलिएको स्वघोषणा पेश गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । साथै रित नपुगि प्राप्त हुन आएका निवेदनहरु छनौटका लागि समावेश नगराइने मन्त्रालयले सूचित गरेको छ ।
कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०८० अनुसार माग दावी अनुसार आधिकतम १० लाख रुपैयाँसम्म राहत रकम वितरण गरिने सूचना अधिकारी अधिकारीले बताए । उक्त कार्यक्रमका लागि मन्त्रालयले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा मन्त्रालयले १ करोड ५७ लाख रुपैयाँ राहत रकम कृषकहरुलाई उपलब्ध गराएको थियो ।
सो वर्षमा मन्त्रालयले ४१ जना कृषकहरुलाई राहत रकम उपलब्ध गराएको थियो । सो वर्षमा मन्त्रालयले प्रदेशका ११ जिल्लाका विभिन्न ४१ वटा फर्म तथा व्यक्तिहरूलाई राहत रकम किसानकै खातामा जम्मा गरिएको उनले बताए । जसमा चितवनका १२, मकवानपुरका १०, काभ्रेका आठ, नुवाकोट, ललितपुर र धादिङको २–२ तथा सिन्धुली, भक्तपुर, दोलखा र काठमाडौंका एक–एकजना कृषक तथा कृषि फर्मलाई राहत रकम वितरण गरिएको थियो ।
गत आर्थिक वर्षमा पेश भएका केही निवेदनहरु मन्त्रालयम बाँकी नै रहेको र उक्त निवेदन माथि आवश्यक प्रक्रिया पुरा गरी राहत रकम वितरण गरिने उनले बताए ।






