हेटौंडा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई अल्ट्रासाउन्ड तालिम दिएको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य तालिम केन्द्रको आयोजना एवं धुलिखेल अस्पतालको सहकार्यमा नर्सिङ तथा मिडवाइफ्रिका लागि तालिम भएको हो ।

तालिमको स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री लामाले ग्रामीण भेगमा मातृ स्वास्थ्य सुधारका लागि अल्ट्रासाउन्ड एक उपकरण भएकाले यसकाे व्यवस्थासंगै तालिम प्राप्त जनशक्ति उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । यसका लागि मन्त्रालयले धुलिखेल अस्पतालजस्ता संस्थासंग साझेदारी गर्ने बताए ।
उनले बागमती प्रदेश सरकारले ग्रामीण क्षेत्रका सीमान्तकृत जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन ‘विद्यालय स्वास्थ्य परिचारिका’ लगायतका कार्यक्रममार्फत नवप्रवर्तनात्मक उपायहरु अवलम्बन गर्ने र नयाँ कार्यक्रमहरु विकास गर्ने कार्यलाई निरन्तरता दिने बताए । कार्यक्रममा प्रयोगात्मक अभ्यासका लागि धुलिखेल अस्पताललाई मन्त्रालयले २ थान अल्ट्रासाउन्ड उपलब्ध गराएको थियो ।






