हेटौंडा, ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि संगीत’ भन्ने मूल नाराका साथ यही फाल्गुन २४ गते हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा ‘म्युजिक फर कज’ कार्यक्रम आयोजना हुने भएको छ ।
नेपालमा रहेका म्युजिसियनहरूलाई एकै मञ्चबाट विभिन्न गीत प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मिस्टर नेपाल २०२४ का दोस्रो उपविजेता आयुष भोम्जनले जानकारी दिए । कार्यक्रममा सहभागी एक सय भन्दा बढि म्युजिसियनहरूले नेपथ्यको ‘जिन्दगानी’, एल्ब्रटर्सको ‘निश्चल’, १९४७ एडीको ‘यो मन त मेरो नेपाली हो’, सविन राईको ‘नमुना’, नेपालको राष्ट्रिय गानलगायतका गीतहरु एक साथ गाउने छन् ।
‘कार्यक्रम सहभागिताको लागि प्रति म्युजिसियन २ सय रुपैयाँ दर्ता शुल्क तोकेका छौँ ।’ कार्यक्रमका संयोजक भोम्जनले भने –‘म्युजिसियनहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गराउने उद्देश्यले २ सय रुपैयाँ लिएका हौँ । कार्यक्रममा संकलन भएको रकम वृद्धाआश्रमलाई सहयोग गर्ने छौँ ।’
म्युजिसियनहरुलाई एकताबद्ध बनाइ नेपाली संगीतलाई उत्सव बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । फाल्गुन २४ गते आयोजना हुने कार्यक्रमले हेटौंडामा एक उपलब्धी हासिल गर्ने लक्ष्य रहेको उनको दावी रहेको छ । कार्यक्रमको लागि सर्वसाधारणको लागि प्रवेश निःशुल्क रहेको छ ।






