बागमती प्रदेशसभा : एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

हेटौंडा, बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु र मर्यादापालकबीच सोमबार घम्साघम्सी परेको छ । प्रदेशसभाको दिउँसो साढे ३ बजे बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने तयारी गरेसँगै घम्साघम्सी भएको थियो ।

ADVERTISEMENT

एमालेका सांसदहरुले उक्त विधेयकको विरोध गर्दै रोष्टम घेर्ने पुग्दा सुरक्षार्थ खटिएका मर्यादापालकहरुले रोकेका थिए । सांसदहरुलाई रोष्टम चढ्नबाट रोक्ने क्रममा मर्यादापालकहरुबीच धकेलाधकेल भएको थियो ।

करिब १० मिनेटसम्म सांसद र मर्यादापालकहरुबीच धकेलाधकेलको स्थिति भएपछि सभामुख पाठकले १५ मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

बैठकमा सभामुख पाठकले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले उक्त चिठ्ठा विधेयक संसदमा पेश गर्न रुलिङ गरेका थिए ।

मन्त्री लामा रोष्टम चढ्दै गर्दा एमालेका सांसद केशव प्रसाद पोखरेलले नियमापत्ति जनाएका थिए । सरकारले चोर बाटोबाट संसदमा विवादित विधेयक पेश गरेको भन्दै सहज रुपमा प्रक्रिया पुरा गरी विधेयक पेश गर्न उनले आग्रह गरे । तर, सभामुख पाठकले पुनः विधेयक पेश गर्न मन्त्री लामालाई रुलिङ गरेपछि एमालेका सांसदहरु विरोधस्वरुप बेञ्चबाट उठेका थिए ।

Advertisement 5

उनीहरुले विधेयक पेश नगर्न र बैठक स्थगित गर्न गरेको पटक पटकको आग्रहलाई बेवास्ता गर्दै सभामुख पाठकले संसद् बैठक जारी राखेका थिए भने मन्त्री लामा पनि संसदमा सो विधेयकका सम्बन्धमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले उपलब्ध गराएको सुझावपत्र वाचन गरिरहेका थिए ।

सोही क्रममा एमाले सांसदहरु नाराबाजीसहित टेबल ठोक्दै विरोधमा उत्रिए । उनीहरुलाई मर्यादापालकले रोकेपछि स्थिति असहज बनेको थियो ।

संसद्को स्थिति थप असहज बनेपछि भने सभामुख पाठकले मन्त्री लामालाई प्रस्तुति रोक्न रुलिङ गरे । तर, मन्त्री लामा भने फटाफट प्रदेश प्रमुखको विधेयकका विषयको सुझाव वाचन गर्नमा नै व्यस्त थिए । प्रदेशसभाका सचिव कृष्णहरि खड्काले प्रस्तुति रोक्न भनेपछि मात्र मन्त्री लामा रोकिएका थिए ।

मन्त्री लामाले प्रस्तुति रोकेपछि पनि केहीबेर अवस्था अशान्त नै रहेको थियो । अन्ततः संसद्को अवस्थालाई नियन्त्रण गर्न सभामुख पाठकले संसद् बैठक स्थगित गरेका थिए । (स्रोतः रातोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *