हेटौंडा, जेनजी आन्दोलनका क्रममा बागमती प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय जलेर नष्ट भएको छ । मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा करिब साढे पाँच करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।
हेटौंडा–१ चौकीटोल आरालोमा रहेको मन्त्रालयका प्रवक्ता भुपेन्द्रकुमार यादवका अनुसार आगलागीका कारण मन्त्रालयका चार वटा कोठाबाहेक सबै जलेका छन् । “एकै भवनमा रहेका चार मन्त्रालय जलेर नष्ट भएका छन्। मन्त्रालयको अधिकांश कोठा र कागजात खरानी बनेका छन्। दक्षिणतर्फका दुई र पूर्वतर्फको एउटा कोठा मात्र सुरक्षित छन्,” यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयसँगै पूर्वाधार कार्यालय चितवन, सहरी विकास तथा भवन कार्यालय मकवानपुर, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाको पनि ठूलो क्षति भएको छ ।
आन्दोलनका क्रममा मन्त्रालयका ४० वटा सवारी साधनसमेत जलेर खरानी भएका छन् । तीमध्ये पाँच वटा चारपांग्रे सवारीसाधन र ३५ वटा सरकारी तथा निजी मोटरसाइकल तथा स्कुटर रहेका प्रवक्ता यादवले जानकारी दिनुभयो ।






