हेटौंडा, नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा आज शनिबार तीज विशेष कार्यक्रम हुँदैछ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्न लागेको महिला संघ मकवानपुरका सचिव निलम देवकोटाले जानकारी दिइन् ।

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’को प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुन महिला संघले खुला आव्हान समेत गरेको छ । ‘गत बर्षहरुमा झैं यस बर्ष पनि महिला संघले तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ’, महिला संघ मकवानपुर अध्यक्ष लक्ष्मी श्रेष्ठले भनिन्, ‘महिला दिदीबहिनीको बीचमा शुभकामना आदानप्रदान गर्दै संस्कृतिको जगेर्ना र रमाईलो गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।’
तीज नजिकिए संगै जिल्लामा रहेका विभिन्न संघ संस्थाहरुले पनि तीज विशेष कार्यक्रमहरुको आयोजना गरिरहेका छन् । हेटौंडा १७ मा रहेका शुभकामना महिला जागृती बचत तथा ऋण सहकारी संस्था, हेटौंडा ६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पनि आज शनिबार तीज कार्यक्रम रहेको र संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह समेत गरेका छन् ।








