हेटौंडा, हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत फागुन २ गते शनिबार शिविर आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

शिविर नकौला शहरी स्वास्थ्य केन्द्रको भवनमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। वडाध्यक्ष सविन न्यौपानेका अनुसार शिविरमा आँखा, दाँत तथा महिलासम्बन्धी पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण निःशुल्क रूपमा गरिनेछ। स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
शिविरमा हेटौंडा अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग रहनेछ।
स्थानीय तहले समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुरूप सञ्चालन गरिने यस्ता शिविरले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष न्यौपानेले बताए। वडा कार्यालयले स्वास्थ्य परीक्षणबाट लाभ लिन सम्पूर्ण वडावासीलाई उपस्थित हुन अनुरोध गरेको छ।







