खुला दौडको उपाधि हेमजन र लोप्चनलाई

हेटौँडा, हेटौंडामा सुरु भएको खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता आयोजना भएको छ । शुक्रबार बिहान हेटौंडामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ १ का सुवास हेमजन प्रथम भएका छन् । अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै हेमजनले प्रथम स्थान हाँसिल गरेका हुन् ।

दौडमा मनहरी ८ का सन्दिप विक द्वितीय र बकैया ८ का राजकुमार गोले तृतीय भए । यस्तै महिलातर्फ हेटौंडा १३ की साधना लोप्चन प्रथम भइन् । उनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै महिला दौडको उपाधि जितेकी हुन् । महिलातर्फ हेटौंडा १३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा ४ की सुविना गोले तृतीय र राक्सिराङ १ की निलिमा थिङ सान्त्वना भइन् । दुवैतर्फको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र एकहजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सव भएको हो । महोत्सव अन्तर्गत विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता हुनेछ । दौडमा इच्छा भएका खेलाडीहरुको पहिचानसहित खेल क्षेत्रको विकासका निम्ति जिल्लास्तरीय महिला तथा पुरुष दौडको आयोजना गरिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।

शुक्रबारबाट नै जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता समेत सुरु भएको छ । हेटौंडा ११ थानाभ¥याङस्थित कभर्ड हलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् खेलकुदप्रेमी अरुणराज सुमार्गीले ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन गरेका हुन् । ब्याड्मिन्टन प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए ।

Advertisement 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *