हेटौंडा, मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बुधबारबाट हेटौंडामा टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । बुधबार भएको पहिलो खेलमा कमाने क्रिकेट क्लवले नव जिवन ज्योति क्रिकेट क्लवलाई ७८ रनले पराजित गर्न सफल भयो ।
शुरुमा ब्याटिङ गरेको कमानेले पुरै २० ओभर खेल्दै १० विकेटको क्षेतिमा १ सय ३४ रनको सम्मानजनक योगफल तयार पारेको थियो । कमानेका सागर मगरले २८ रन र सन्देश ढकालले २५ रन बनाए । नव जिवनको भुसन तिवारीले ३ विकेट, रितेश अधिकारी र सुपेन्द्र तिवारीले समान २ विकेट लिए ।

१ सय ३५ रनको लक्ष्य प्रस्तुत गर्न मैदानमा उत्रेको नव जिवन १४ दशमलव ३ ओभरमा अल आउट हुँदै ५६ रनमै सिमित बन्यो । नवजिवनको तर्फबाट रोविन सिंहले १८ रन र नविन पौडेलले ११ रन बाहेक अरु खेलाडीले दोहोरो अंक बटुल्न सकेन ।
कमानेका सुजन चौलागाई र समिर चौलागाईले समान २ विकेट लिए । प्रतियोगितामा कमानेका सुजन चौलागाई म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा मौसम बाधक बनेपछि १२ ओभरमा खेलाएको खेलमा मकवानपुर क्रिकेट क्लव विजयी भएको छ । रेड सोयल क्रिकेट क्लवलाई १८ रनले पराजित गर्दै मकवानपुर क्रिकेट क्लव विजयी भएको हो । शुरुमा ब्याटिङ गर्न मैदानमा उत्रेको मकवानपुरका लागि सुमन सुनारले ४० रन र तच्छक सिम्खडाको ३० रनको योगदानले ६ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । रेड सोयलका लागि कुसल केसीले ३ विकेट र नविन शर्माले २ विकेट लिए ।
१ सय ४ रनको लक्ष्य पाएको रेड सोयल ५ विकेटको नोक्सानीमा ८५ रनमै सिमित भयो । रेडका लागि शुभ कंसाकारले ३७ रन र योबिन भट्टराईले १७ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोडन सकेनन् । मकवानपुरका लागि रामनरेश गिरी, रिजन ढकाल, सुवर्ण भट्ट, साकार गजुरेल र सन्तोष यादवले समान १ विकेट लिए । प्रतियोगितामा मकवानपुरका सुमन सुनार म्यान अफ द म्याच घोषित भए ।
मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले नगद १ लाख र उपविजेता टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।






