हेटौंडा, आन्तरिक राजस्व कार्यालय हेटौंडाले राष्ट्रिय कर दिवसको अवसरमा मकवानपुरका पाँच जना करदातालाई सम्मान गरेको छ ।

सबैभन्दा बढी कर तिर्नेमा शैक्षिक संस्थातर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेन्स प्रालि, उद्योगतर्फ प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रा.लि, सेवा निर्माणतर्फ विपिआर कन्स्ट्रक्सन प्रालि, व्यापारतर्फ सिंह एण्ड ब्रदर्श र वित्तीयमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको हो ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टले ४३ लाख ७७ हजार ९२५ रुपैयाँ, प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालिले एक करोड ९ लाख ८० हजार ६४८ रुपैयाँ, विपिआर कन्स्ट्रक्सन प्रालिले ५४ लाख ७२ हजार ६३९ रुपैयाँ, सिंह एण्ड ब्रदर्शले २९ लाख ९० हजार ५९३ रुपैयाँ र पालुङ बहुउद्देश्यीयले २५ लाख १ हजार ९५९ रुपैयाँ राजस्व दाखिला गरेको कार्यालयले जनाएको छ । हरेक वर्ष कर दिवसको अवसरमा कर कार्यालयले सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गर्दै आएको छ ।
दिवसका अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नायव सुव्वा जनक ढकाललाई सम्मान र शुभलक्ष्मी लामालाई कार्यालयले प्रशंसापत्र प्रदान गरेको छ । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत तुलसी प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवापुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाललगायतको आतिथ्यता रहेको थियो ।






