हेटौंडा, हेटौंडा जेसीजको आयोजनामा भएको अन्तर कलेज टि २० क्रिकेट प्रतियोगिताको उपाधी नेशनल इन्फोटेक कलेज वीरगञ्जले जितेको छ । मंगलबार हेटौंडाको हुप्राचौरमा भएको फाइनल खेलमा हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसलाई ४ विकेटले पराजित गर्दै नेशनलले उपाधी चुमेको हो ।
उपाधिसँगै प्रतियोगिताको विजेताले नगद ५० र उपविजेताले २५ हजार रुपैयाँ नगद हात पारेको हो । हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठ एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए ।
नेशनलका मन्थन यादव फाइनल खेलको म्यान अफ द म्याच र प्रतियोगिताका म्यान अफ द सिरिज घोषित भए भने हेटौंडा स्कूल अफ म्यानेजमेन्टका युविन बुढाथोकी बेष्ट ब्याट्सम्यान, नारायणी कलेज हेटौंडाका बलर अस्मितकुमार मण्डल उत्कृष्ट बलर घोषित भए । मंगलबार टस जितेर ब्याटिङ रोजेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टले २० ओभरमा ६ विकेटको नोक्सानीमा १२० रन बनायो । म्यानेजमेन्टका युविन बुढाथोकीले ४९ रन, राजा अहमदले २५ रन, विशाल फुयाँलले २२ रन बनायो । नेशनलका अरबाज अन्सारीले २ विकेट लिए । जवाफी ब्याटिङको लागि मैदान उत्रेको नेशनल १९ दशमलव १ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य भेटायो ।
नेशनलका मन्थन यादवले नट आउट ४३ रन, राहुल महतोले १६ रन, एमडी सराफ अन्सारीले २३ रन बनाए । म्यानेजमेन्टका गुड्गु यादवले ३ विकेट, गौरभ श्रेष्ठले २ विकेट लिए । अन्तिम दुई ओभर म्यानेजमेन्टको फिल्डिङ फितलो भएको कारणले जितेको खेल पनि हार्न पुगेको हो । प्रतियोगितामा हेटौंडा, चितवन, बारा र पर्साका गरी ६ टोलीको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक सुमान अर्यालका अनुसार प्रतियोगितामा करिब ५ लाख रुपैयाँ खर्च भएको छ ।
उनले आगामी वर्षबाट प्रतियोगितालाई अझै उत्कृष्ट र सहभागी टिमको संख्या बढाउँदै लैजाने योजना रहेको बताए । कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, हेटौंडा जेसीजका पूर्व अध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।







