हेटौंडा, मनहरी गाउँपालिकाले ३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा आइतबार अपाङ्गता भएका व्यक्तिलाई निर्वाह भत्ता वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका १ सय ३४ जनालाई जनही रु ५ हजार ४०० रुपैयाँको दरले निर्वाह भत्ता वितरण गरेको हो ।
नेपाल सरकारले वितरण गर्दै आईरहेको सामाजिक सुरक्षा भत्तामा नसमेटिएका पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी भत्ता वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले राज्यको ध्यान नपुगेका आंशिक अपाङ्गलाई स्थानीय सरकारले समेट्नु पर्छ भन्ने उद्देश्यले भत्ता वितरण गरिएको जानकारी दिइन् ।
यस्तै, गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आगामी दिनमा थप बजेट विनियोजन गरी अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाहमा टेवा पु¥याउने उद्घोष गरे ।
मनहरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
महिला तथा बालबालीका विकास शाखा प्रमुख शिला अधिकारीले सहजीकरण गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, एम.आई.एस अपरेटर दिपक अधिकारी लगायतको सहभागिता रहेको थियो ।






