हेटौँडा, मकवानपुर प्रहरीले घरेलु मदिरा उत्पादन भइरहेको एक भट्टिमा छापा मार्दै करिब ९ हजार लिटर मदिरा तथा कच्चा पदार्थसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ करिब ४ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१, चौकिटोलस्थित जगतबहादुर घिसिङको जस्ताले बनेको घरमा सञ्चालन हुँदै आएको मदिरा भट्टिमा खानतलासी गरेको थियो ।
प्रहरीका अनुसार सो क्रममा भट्टि सञ्चालक अन्दाजी ६० वर्षीय जगतबहादुर घिसिङलाई नियन्त्रणमा लिइएको छ । साथै भट्टिमा काम गर्ने कामदारहरू चितवनको कालिका नगरपालिका–७ बस्ने २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ का १९ वर्षीय अजय लामा र चितवन कालिका नगरपालिका–९ का ३४ वर्षीय सुरेश प्रजालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
छापामार कारबाहीका क्रममा प्रहरीले करिब ४ हजार लिटर तयारी अवस्थामा रहेको घरेलु मदिरा, ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल तथा प्लास्टिकका ड्रम र बोतलहरू बरामद गरेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






