विद्यार्थीको रचनाबाट भावुक भए : लामिछाने

हेटौंडा, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा गतवर्ष झैँ यसवर्ष पनि ‘कफी हाउस’ कार्यक्रम बुधबारबाट सुरु भएको छ । बुधबार कक्षा ४ को नारूतो सेक्सनमा आबद्ध विद्यार्थीहरुले नेपाली र अङ्ग्रेजी दुवै भाषाका पुस्तक कफी हाउसमा विमोचन गरी त्यस पुस्तकबाट एउटा सिर्जना आफ्नो अभिभावक माझ प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका युवा साहित्यकार बैकुण्ठ लामिछानेले कफी हाउस कार्यक्रममा विद्यार्थीले प्रस्तुत गरेको सिर्जना र वाचनबाट आफू भावुक भएको बताए । ‘विद्यार्थीहरुलाई पाठ्यपुस्तक मात्र नभई उनीहरुको सिर्जनाले बौद्धिक क्षमतामा महत्वपूर्ण भूमिका खेल्दछ,’ उनले भने, ‘समाजमा सचेतना फैलाउने खालका र विकृतिका विरुद्धमा कविता कोर्दै आइरहेको छु । बालबालिका सम्बन्धी कुनै पनि साहित्य रचना आफूले नकोरेकोले सम्भवत २०८१ सालमा बालबालिका सम्बन्धी पुस्तक निर्माण गर्ने जमर्को गर्नेछु ।’

विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व विकास तथा व्यक्तित्व विकास पु¥याउने विश्वासका साथ विद्यालयले विगत ७ वर्षदेखि कफी हाउस कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा मकवानपुरे पत्रकार सुरेश श्रेष्ठले नवोदयले गरेको प्रयत्नहरु घरमा पनि लागू गरिदिन अभिभावकसँग आग्रह गरे ।

किताब पढ्दा धेरै कुरा सिक्ने र जान्ने भएकोले विद्यार्थीलाई किताब किनिदिन र अभिभावकलाई पढ्न पनि उनले अनुरोध गरे । कफी हाउस कार्यक्रममार्फत रचना वाचन गर्ने अवसर दिएको भन्दै विद्यार्थीले विद्यालयप्रति धन्यवाद व्यक्त गरेका थिए । विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने तथा भाषिक सीपको विकास गराउने मूल उद्देश्यले कफी हाउस कार्यक्रमको आयोजना गरेको विद्यालयका नेपाली विषयका सुपरीवेक्षक सीएम रिमालले जानकारी दिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *