हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई शनिबार र आइतबार सार्वजनिक बिदा कार्यान्वयन गर्दै अन्य दिन नियमित रूपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाद्वारा जारी पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम शैक्षिक सत्र २०८३ देखि हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न लागिएको हो ।
उपमहानगरले विद्यालयहरूलाई पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलाएर सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । साथै वार्षिक तथा स्थानीय बिदाको अवधि ५० दिनबाट घटाएर ३० दिन कायम गरी क्यालेन्डर तथा वार्षिक कार्यतालिका निर्माण गर्न भनिएको छ ।
पत्रमा प्रथम र द्वितीय त्रैमासिक परीक्षालाई आन्तरिक मूल्याङ्कनसरह पठनपाठन भएकै दिन सञ्चालन गर्ने तथा वार्षिक परीक्षाका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।
त्यसैगरी शुक्रबारका दिन समुदाय तथा पारिवारिक क्रियाकलाप, सूचना प्रविधिको प्रयोगसहित परियोजनामूलक तथा प्रयोगात्मक कार्य प्रस्तुत गर्ने अवसर दिन विद्यालयहरूलाई सुझाव दिइएको छ । विद्यालय समयभन्दा अतिरिक्त समयमा जीवनोपयोगी सीप, व्यवहारिक सीप तथा शिक्षक–विद्यार्थीबीच प्रत्यक्ष संवाद र सहकार्यमा आधारित गतिविधि सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।
उपमहानगरपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट जारी सहजीकरणसम्बन्धी सामग्री अध्ययन गरी सोहीअनुसार विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।








