हेटौंडा, हेटौंडाका उदिम पन्तले लेखेका ‘प्रारम्भिक संस्कृत व्याकरण’ पुस्तक विमोचन गरिएको छ । बुधबार साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको सभाहलमा एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गरिएको हो ।
किताबघर वितरक रहेको उक्त व्याकरण किताब प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहमा अध्ययन गर्ने जो–कोहीलाई उपयोगी हुने लेखकको दावी रहेको छ ।
पुस्तकको विमोचन गर्दै वेदमा विद्यावारिधि गरेका अग्निहोत्री डा। सीताराम खनालले वेदको मुख भनेकै व्याकरण भएको बताए । वेदको प्रमुख अंगको रुपमा रहेको संस्कृत व्याकरणलाई सबैले बुझ्ने भाषामा प्रकाशित गरिएको भन्दै उनले कृतज्ञताका साथ बधाई ज्ञापन गरे ।
विश्वका अधिकांश भाषाको जननी नै संस्कृत भाषा भएको भन्दै डा। खनालले संस्कृत अध्ययन र ज्ञान लिनु सबैका लागि जरुरी रहेको बताए । आर्यव्रत मुलुकमा संस्कृत हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै खनालले पश्चिमा देशहरुले संस्कृतको महत्व बुझेर त्यसलाई अध्ययन अध्यापन गराइरहेको स्मरण गराए ।
कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको हो । कार्यक्रममा संस्कृत अध्येता साहित्यकार हयग्रीव आचार्यले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए ।






