हेटौंडा/ मकवानपुरको विजय यूथ क्लवले सी डिभिजन लिग प्रतियोगितामा भाग लिने भएको छ । सी डिभिजन लिग हुँदै ए डिभिजनसम्म खेल्ने उद्देश्यका साथ क्लवले छनौट प्रतियोगितामा भाग लिँदै आएको छ । छनौट प्रतियोगितामा सहभागिताका लागि विजय यूथले टिम तयार गरेको छ ।

मकवानपुर र छिमेकी जिल्लाबाट समेत केही राम्रा खेलाडी छनौट गरी दैनिक प्रशिक्षण भैरहेको क्लवका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए । विजय यूथले खेलाडीहरुलाई खाना र बसोबासको व्यवस्था सहित दैनिक अभ्यास गराइरहेको हो । सी डिभिजन लिग छनौट प्रतियोगिता यही असोज १ गतेबाट सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही बर्ष हुने सहीद स्मारक सी डिभिजन लिगका लागि छनौट प्रतियोगिताको आयोजना गर्न लागेको हो । सहभागिताको लागि विजय यूथले टिम दर्ता समेत गरिसकेको छ । विजय यूथले अघिल्लो २ बर्ष पनि छनौट प्रतियोगितामा सहभागिता जनाएको थियो । यस बर्ष सी डिभिजन लिग खेल्ने उद्देश्यसहित छनौटमा सहभागी हुन लागेको अध्यक्ष राजबाहकले जानकारी दिए ।
‘हामीले अघिल्लो २ बर्ष पनि छनौटका लागि प्रयास गरेका थियौं । दुवै पटक अन्तिममा गोल खाएर पहिलो चरणबाटै बाहिरिएका थियौं । उक्त खेलबाट पाठ सिक्दै यो पटक बलियो टिम बनाउने प्रयास गरेका छौं’, उनले भने । विजय यूथले बनाएको टिमको गोलरक्षकमा गोपी बर्तौला, सुचन लोप्चन र सरोज ब्लोन रहेका छन् भने डिफेन्डरमा आकाश कटुवाल, अनिल थापा मगर, सुरज बिष्ट, राजश्री प्रजापति र मनिष मोक्तान तथा मिडफिल्डमा सुजन खड्गी, सुजन गुरुङ, गणेश राई, सुनिल घलान डने तथा फरवार्डमा विश्व लामा, मनोज लामा, अभिषेक लामा, विजय दोङ र अजय चौधरी रहेका छन् । अन्य खेलाडीहरुसंग पछि छलफल भैरहेको बताइएको छ । अघिल्लो बर्ष सी डिभिजन छनौटका लागि देशभरबाट ७८ क्लव सहभागी रहेका थिए ।
छनौट प्रतियोगिताको शीर्ष तीन क्लवले सी डिभिजन लिग खेल्ने प्रावधान रहेको छ । अघिल्लो बर्ष मकवानपुरको राप्तीरिभर युवा क्लव (आरआरवाइसी) ले पनि छनौट प्रतियोगितामा सहभागिता जनाएको थियो ।







