हेटौंडा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य विदुर हुमागाईले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई समक्ष ज्ञापनपत्र बुझाएको हो । केन्द्रिय दुग्ध सहकारी संघको घोषित आन्दोलन अन्तरगत ज्ञापनपत्र बुझाइएको हुमागाईले बताए ।
मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको दुग्ध उत्पादन ब्यवशाय दिनानुदिन धरासायी हुँदै गईरहेको तथा दुग्ध उत्पादक किसानहरुको आम्दानीको एकमात्र स्रोत पशुपालन ब्यवशाय अन्तरगत उत्पादन हुने दुग्ध बिक्री नहुने र बिक्री भएको दुग्धको रकम समेत समयमा भुक्तानी नहुने कारणले किसानहरु गम्भिर पीडामा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सरकारी स्वामित्वको दुग्ध बितरण आयोजना र नीजि क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम बिगत ६ महिनादेखि नपाएको र किसानहरुले उत्पादन गरेका कुनैपनि कृषिजन्य उत्पादनले बजार नपाएको तथा बजार भारतिय उत्पादनले भरिभराउ रहेका कारण नेपाली किसानहरुले आफ्नो उत्पादन फ्याक्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ ।
‘कृषि र पशुपालन ब्यवशायमा यति धेरै समस्या सृजना हुँदापनि सरकार किसानहरुको समस्या प्रति उदासिन देखिनु, अबैधानिक रुपमा आयातित भारतिय दुग्ध र दुग्धजन्य पदार्थ रोक्न आवश्यक कदम नचाल्नु, आफ्नै मातहतमा रहेको दुग्ध विकास संस्थानलाई भुक्तानी दिनको लागि कुनैपनि कदम नचाल्नु जस्ता खेदजनक कदमको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ घोर भत्र्सना गर्दछ’ ज्ञापनपत्रमा भनिएको छ ।
साथै केन्द्रीय दुग्ध सहकारी संघद्वारा घोषणा भएको आन्दोलनका कार्यक्रम प्रति ऐक्यबद्धता जनाउँदै मकवानपुरबाट आन्दोलनको आँधिबेहरी सृजना गर्ने संघले चेतावनी दिएको छ । किसानहरुको समस्या समाधानको लागि आयोजित आन्दोलनमा सबै पक्षबाट साथ र सहयोग रहनेमा संघले अपेक्षा गरेको छ ।






