हेटौंडा, हाँस्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव अर्याल स्मृती सम्मान २०८० बाट हास्य व्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित भएका छन्। साहित्यको हाँस्य व्यङ्ग्य क्षेत्रमा योगदान पुर्याएको भन्दै मकवानपुरका लामिछानेलाई शुक्रबार सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.मुकेश कुमार चालिसेले उनलाई सम्मान पत्रसहित नगद २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए। लामिछानेको ‘मैले जिउन जानिनँ’ हाँस्य व्यङ्ग्यको कविता संग्रह प्रकाशित छ।

साहित्य सङ्गम मकवानपुर एवम् सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा प्रदान हुने भैरव अर्याल स्मृति सम्मानबाट यसअघि सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङ मास्टरलगायत सम्मानित भइसकेका छन् । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण मुरारी गौतम (चटयाङ मास्टर) ले काठमाडौंलाई राजनीतिको शहर बनाउनुपर्ने र हेटौंडालाई हास्य व्यङ्ग्य शहर बनाउनु पर्ने बताएका थिए ।
उनले हास्यव्यङ्ग्य राधा कविता वाचन गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, हास्य व्यङ्ग्यकार आरसी रिजाल, पुरस्कार संस्थापक दीपक अर्याललगायतको आतिथ्यता रहेको थियो ।







