आमाको हत्या आरोपमा छोरा पक्राउ

हेटौंडा, आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिकाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्खेलका २६ वर्षका मिलन गमाल रहेका छन् । उनले फागुन २९ गते आफ्नै ४७ वर्षीया आमा ज्ञानीमायालाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । ज्ञानीमाया ३० गते बिहान आफ्नै घरभित्र बन्द कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

ADVERTISEMENT

घटनाको अनुसन्धानको क्रममा फोरेन्सिक मेडिसिन विभाग त्रिभुवन शिक्षण अस्पताल काठमाडौंको रिपोर्टमा कसैले घाँटी थिचेर हत्या गरेको देखिएपश्चात प्रहरीले सुक्ष्म अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानको क्रममा उनकै छोराले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ‘घटनास्थलमा लाशको प्रकृती हेर्दा शंका गर्ने केही आधारहरु थिए । मृतकको शव परीक्षणका लागि फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज पठाइएको थियो । पोष्टमार्टम रिपोर्टमा घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि थप अनुसन्धान गरेका हौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले भने, ‘अनुसन्धानको क्रममा मृतककै छोराको संलग्नता देखिएको हो ।’

फागुन २९ गते भारततिर रोजगारीका लागि जान्छु भनेर हिँडेका मिलनले मदिरा सेवन गरी बेलुका गाउँमै सुतेको र राति घरमा गएर आमाको घाँटी थिचेर हत्या गरेको पुष्टि भएको भण्डारीले बताए । हत्या पश्चात आमाको मोबाईल समेत लिएर झ्यालबाट बाहिर निस्केर काठमाडौं गएर लुकेर बसेको प्रहरीले बताएको छ । हत्याको कारण भने नखुलेको डीएसपी भण्डारीले बताए । प्रहरीले गमाललाई काठमाडौंबाटै पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *