हेटौंडा, बकैयाँ गाउँपालिका ५ स्थित पावसमा अग्निपीडित दलबहादुर राई र नरबहादुर राईका परिवारलाई हेटौंडा २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयले खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
यही बैशाख ११ गते राईको घरमा आगलागी भएको थियो । शुक्रबार बकैया गाउँपालिकामै पुगेर विद्यालयका प्रिन्सिपल विनोद सुवेदी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाले अग्निपीडित राईका परिवारलाई नगद, खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको हो ।
विद्यालयले दनबहादुर राईका नातीलाई शैक्षिक सामग्री सहयोग गर्नुका साथै अग्निपीडित द्वयराइका परिवारलाई चामल, तेललगायत खाद्यान्न सामग्री सहयोग गरेको हो । विद्यार्थी उमेरदेखि नै सेवा र सहयोगको भाव जागृत गर्नका निमित्त विश्व रेडक्रस दिवसको अवसरमा बालजागृति युवा रेडक्रस सर्कल तथा बालजागृति इङ्गलिस सेकेण्डरी स्कुलको सहयोगमा अग्निपीडितलाई राहत सामग्री सहयोग गरेको विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब अफ हेटौडा लर्ड बुद्धका अध्यक्ष तुलसी गिरी, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सदस्य पिताम्बर बास्तोला, बकैया गाउँपालिकाका सचिव देवराज लामिछाने र सुमन विश्वकर्माको उपस्थिती रहेको थियो ।






