गृहिणी महिलाले उत्पादन गरे दालमोठ र आलुचिप्स

हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाका गृहिणी महिलाको समूहले दालमोठ र आलु चिप्स उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका छन् । १२ जना गृहिणी महिलाको समूहले खाद्य उद्योगको अनुज्ञापत्र प्राप्त गरी सक्रिय महिला उद्योग सञ्चालनमा ल्याएका हुन् ।

ADVERTISEMENT

मंगलबार वडामा पत्रकार सम्मेलन गर्दै उद्योगका अध्यक्ष अनुराधा उप्रेतीले दालमोठ र आलुचिप्स बनाउने तालिम लिएपछि १२ जना गृहिणी महिला मिलेर आवश्यक पक्रिया पूरा गरी उद्योग स्थापना गरेको जानकारी दिइन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मार्फत अनुज्ञापत्र समेत लिइएको उनले बताइन् ।

हेटौंडा–६ रामनगरमा कोठा भाडामा लिएर सञ्चालन गरिएको उद्योगबाट बनाइएको आलु चिप्स एकसय ग्रामको एकसय रुपैयाँ र दालमाठ ५ सय ग्रामको २५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । पत्रकार सम्मेलनमा हेटौंडा ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहालले गृहिणी महिला चुल्होचौका छोडेर आर्थिक उपार्जनको काममा लागेकोमा खुसी व्यक्त गर्दै उद्योगको निरन्तरताको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले उद्योगलाई प्याकेजिङका लागि उपयुक्त मेसिन हस्तान्तरण गरिने प्रतिवद्धता जनाए । कार्यक्रममा ६ नम्बर वडा सदस्य बिजय पौडेल, तालिमका प्रशिक्षक शोभा श्रेष्ठ, सूचना श्रेष्ठ, महिला उद्यमी गीता मैनाली, हेटौंडा उपमहानगरपालिकाका कर्मचारी लगायतको आतिथ्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *