बागमतीको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित

हेटौंडा, बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित भएका छन् । आइतबार साँझ ७ बजेका लागि तय गरिएको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्रीहरू अनुपस्थित भएका हुन् ।

ADVERTISEMENT

एमाले र कांग्रेस सत्ता साझेदारीमा रहेकाले एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिने तयारीमा रहेका छन् । सोही कारण बैठक उपस्थित नभएको एमालेका एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री हेटौंडा आएलगत्तै राजीनामाको तयारी गरिएपनि मुख्यमन्त्रीकै आग्रहमा सोमबार मात्र राजीनामा दिने तयारी भएको छ । प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ रहेका छन् ।

बैठकमा एकीकृत समाजवादीका ३, माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ४ जना मन्त्री सहभागी भएका छन् । बैठकमा एकीकृत समाजवादीका कृषि तथा पशुपन्छी मन्त्री राजेन्द्रमान श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री रमा आले मगर, श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरद उपस्थित भएका छन् । हाम्रो नेपाली पार्टीका सांसद एवं संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य भने जिल्ला बाहिर रहेकाले बैठकमा उपस्थित भएनन् ।
बैठकमा भरतपुरस्थित निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाका लागि अपुग १ करोड रुपैयाँ रकमान्तर गर्ने र कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठको वैदेशिक भ्रमणका बारेमा निर्णय हुने कार्यसूची रहेको छ । (स्रोतः रातोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *