नवप्रवर्तन र उद्यमशीलता प्रवर्धनको लागि हेटौंडामा अन्तर्राष्ट्रिय सम्मेलन हुने

हेटौंडा, नवप्रवर्तन र उद्यमशीलताको प्रवर्धनको क्षमता विकास गराउने उद्देश्यले हेटौंडामा पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजना तथा विभिन्न संघ संस्थाको सहआयोजक र साझेदारीमा यही फागुन ५ र ६ गते अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक हेटौंडा स्कूल अफ म्यानेजमेन्टले सम्मेलनको बारेमा जानकारी दिएको हो ।

‘यो कार्यक्रम हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मात्रै नभई हेटौंडाको गौरव हो ।’ हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले भने –‘नवप्रवर्तन र उद्यमशीलता लाई बढाउने सोच राखेका थियौ । अहिले हामीले पहिलो चरण पार गरेका छौँ ।’ ‘सम्मेलन राष्ट्रिय र अन्तराष्ट्रिय उद्यमीहरु तथा उद्यमीय इकोसिस्टमका सरोकारवालाहरु बीचको नेटवर्किङको लागि एक मञ्च हो ।’ कार्यक्रम संयोजक दिपेश खनालले भने –‘सीप र पूर्वाधार ज्ञान अभिवृद्धि गर्नु, मानव संसाधन क्षमता अभिवृद्धि र मिलान, नवप्रवर्तनात्मक उपकरणहरुको परिचय र अन्तर क्षेत्र सहयोगको सहजीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।’

दुईदिन सम्म सञ्चालन हुने कार्यशालाको मुख्य आकर्षण भनेको विषयगत क्षेत्र १ (उद्यमी, नीति निर्माता र मानव संसाधन) कार्यशाला, विषयगत क्षेत्र २ मा (विद्यार्थी, शैक्षिक इन्क्युबेशनका ब्यवस्थापक र शैक्षिक संस्थाका सरोकारवाला) कार्यशाला, साझा सत्र, स्टार्टअप प्याभिलियन, नवप्रवर्तन प्याभिलिनमा बहस तथा प्यानल छलफल हुने छ । यस कार्यक्रममा विभिन्न ५ देशका श्रोत व्यक्तिहरुसंगको छलफल तथा नेटवर्कको अवसर, नेपालको उद्यमशिलता विकासमा लागेका २५ जना भन्दा बढी श्रोतव्यक्तिहरु संगको छलफल तथा नेटवर्कको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागराज प्याकुरेलले हेटौंडा औद्योगिक नगरीको रुपमा परिचित भएतापनि अहिले हेटौंडा धेरै पछाडि परिसकेको औल्याएका थिए । नयाँ आइडिया लिएर नवप्रवर्तनलाई प्रवर्धनलाई समातेर त्यसलाई उद्यमशीलतामा ढालेर अगाडि बढ्छु भन्ने खालका नयाँ उद्यमीहरु भेटाउनै मुस्किल परेको प्याकुरेल बताउँछन् ।

विद्यालयस्तरबाटै नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी विषयलाई जोड दिएमा उद्यमीहरु निर्माण हुने उनको भनाइ रहेको थियो ।
पत्रकार सम्मेलनमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठ, योजना तथा विकास विभागका निर्देशक दिपेश जोशीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button