शम्भु अधिकारी
थाहानगर, थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका जन स्वास्थ्य प्रशासक कृष्ण मिजार ले सोमबार नगरपालिकालाई निश्चित इन्डिकेटर र पुर्ण खोप निर्देशिका २०७१को आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन्।
पुर्णखोप सुरक्षित भविष्य,स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धताु भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए।प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक महिना थाहाको २९ वटा खोप केन्द्र बाट नियमित खोपको सेसन चल्ने गरेको तथा घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाएरनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ। सबै सर्तहरू पूरा गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। नगरपालिकामा १६ वर्ष देखि २३ सम्म उमेरका ५५० जनाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ भने ० देखि १५ महिना सम्मका ६४१ जनाले खोप लगाएको तथ्यांक छ।
सोही तथ्याङ्कका आधारमा पालिकाका करिब ९५ प्रतिशतले खोप लगाएको पाइएपछि पालिका घोषणाका लागि जिल्ला समन्वय समितिसमक्ष पेस गरिएको र स्वीकृत भई घोषणा गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए।
उनले अब जिल्लाको चार वटा पालिका पुर्ण खोप सुनिश्चितता हुन बाकी रहेको भन्दै छिटो घोषणा गरि जिल्ला लाई नै घोषणा गर्नुपर्ने बताए प्रमुख घलानले अन्तर्राष्ट्रिय मन्चमा गरेको प्रतिबद्धता स्वरुप आफ्नो जनताको स्वास्थ्य लागि भुमिका खेलिरहेको बताउदै पुर्ण खोप सुनिश्चितताको लागि खटिने सम्पुर्ण स्वास्थ्यकर्मी र स्वयंसेवीका हरु धन्यवादका पात्र रहेको बताए।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारलेले बताए ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख घलानले थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख बिष्टले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले।खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
पालिकाभित्र ५ वटा स्वास्थ्य संस्था,प्राथमिक स्वास्थ्य केन्द्र १ वटा,३ वटा आधारभूत स्वास्थ्य केन्द्र र ३ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन्। साबिकका दामन,पालुङ,बज्रवाराही,चिलाङ,टिस्टुङ, र आग्रा गरी छवटा गाविसहरू समेटेर थाहा नगरपालिका बनेको हो। यस पालिकाभित्र हाल १२ वटा वडा छन्। थाहाको वडा न ५ लाई संस्थागत सुत्केरी वडा समेत घोषणा गरि प्रमाणपत्र प्रदान गरिएको थियो।
थाहा नगरपालिकाका प्रमुख तथा नगर खोप समन्वय समितिका अध्यक्ष बिष्णु बिष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यता र जिल्ला जन स्वास्थ्य प्रमुख कृष्ण मिजारको विशिष्ट आतिथ्यतामा सम्पन्न घोषणा समारोहमा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले शुभकामना दिएका थिए।
कार्यक्रममा सहभागीहरुले थाहा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।






