हेटौँडा, हेटौँडा उपमहानगरपालिकाका दुई छुट्टा–छुट्टै स्थानबाट लागुऔँषध गाँजासहित २ युवक र २ युवती गरी जम्मा ४ जना पक्राउ परेका छन् ।
प्रहरीले सोमबार हेटौँडा–११ थानाभर्याङबाट २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला घर भई हाल सर्लाही जिल्लाको मलंगवा नगरपालिका–४ बस्ने ३० वर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेका छन् ।

सोमबार विशेष सुचनाको आधारमा प्रहरीले काठमाडौंबाट महोत्तरी गौशालातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४४८९ नम्बरको बसलाई थानाभर्याङमा रोकी सुरक्षाजाँच गर्दा लागुऔषध गाँजा फेला पारेको हो । उनीहरुको साथबाट प्रहरीले १५ किलो लागुऔषध गाँजा फेला पारेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै सोमबार नै लागुऔषध गाँजासहित प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट प्रहरीले २६ किलो लागुऔषध गाँजासहित कार चालक चितवन जिल्ला भरतपुर नगरपालिका–२७ का ४२ वर्षीय रोशन दमाई र कारमा सवार खैरहनी नगरपालिका–१६ का ५२ वर्षीय डियन महतो पक्राउ गरेको हो ।
हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको बा १४ प ३७०८ नम्बरको कारलाई रोक्न खोज्दा नरोकी भागेपछि प्रहरी टोलीले चुरियामाई मन्दिर नजिक पुगी कारलाई नियन्त्रणमा लिएको थियो । कारलाई नियन्त्रणमा लिई सुरक्षाजाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






