हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौ ७ गते शुक्रबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१७ का वडाध्यक्ष उद्धव सत्यालले जानकारी दिए । ५१ वटा सूचकहरुमध्ये ४८ वटा सूचकमा सतप्रतिशत, एउटा सूचकमा ९८ प्रतिशत, अर्को सूचकमा ८१ प्रतिशत र अर्को एक सूचकमा ८० प्रतिशतसम्म नतिजा हासिल भइसकेको जानकारी दिँदै आगामी भदौ ७ गते एक कार्यक्रमकाबीच बालमैत्री वडा घोषणा गर्न लागिएको उनले बताए ।
बालबालिकाको सुन्दर भविष्य निर्माणमा घरपरिवारको प्रमुख भुमिका रहेता पनि वडाको पनि ठुलो जिम्मेवारी र दायित्व हुने भन्दै १७ नम्बर वडाध्यक्ष उद्धव सत्यालले बालबालिकाको क्षेत्रमा वडाले लगानी गरिरहेको बताए । यसअघि हेटौंडा–८ र हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ भने हेटौंडा–७ बालमैत्री स्थानीय शासनयुक्त वडा भोलि घोषणा हुँदैछ ।







