हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो ।
शनिबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले ७ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
सो क्रममा मेयर लामाले आर्थिक अभावको कारण बालबालिका शिक्षाबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जानकारी दिइन् ।
उनले हिंसामुक्त नगर स्थापना गर्न सबै एकजुट हुनुपर्ने भन्दै बालबालिकाहरुको चौतर्फी विकासको लागि अभिभावकहरुसंग सहकार्य गर्न पनि उपमहानगर तयार रहेको बताइन् ।
विभिन्न सूचक पूरा गरेसँगै उत्तल वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष दामोदर गौतमले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनको भनाई छ ।
स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गणबाट प्रभातफेरीसहित वडा कार्यालय परिक्रमा गरिएको थियो ।






