चाडपर्वमा खेलकुदमय बन्दै मकवानपुर

सुजन ढकाल
हेटौंडा, चाडपर्व नजिकिएसँगै मकवानपुर जिल्ला खेलमय बनेको छ । नेपालीहरुको महान् पर्व बडा दशैं तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा जिल्ला खेलमय बनेको हो । मकवानपुर जिल्लाका विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गरी साना ठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् भने केही आयोजना हुने क्रममा रहेका छन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला साईक्लिङ संघको समन्वयमा यही असोज २७ गते दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुँदैछ । २५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० वर्षसम्मका मकवानपुर जिल्लाका स्थायीबासी नेपाली नागरिकले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता बिहान ७ बजे हेटौंडा–४ हुप्रचौरबाट सुरु हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रोत्साहन पुरस्कार स्वरुप दुई जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिए ।

यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा यही असोज २८ र २९ गते जिल्लामा पहिलो पटक क्रिकसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमश ः २५ हजार र १५ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको खर्च १ लाख ५० हजार रुपैयाँ रहने अनुमान गरिएको छ । असोज २९ गतेबाट छैटौँ संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ शिल्ड फुटसल प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितमाा विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने गढी स्टार स्पोर्टस् क्लबका अध्यक्ष राजु दुलालले जानकारी दिए । थाहा नगरपालिकाको आयोजना तथा थाहा ५ खेलकुद विकास समिति फुर्के बसन्तको व्यवस्थापनमा सौगात स्मृति भलिबल प्रतियोगिता हुँदैछ । कार्तिक १ गतेबाट फुर्के खेल मैदानमा सुरु हुने प्रतियोगिताको लागि असोज ३० गते सम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार तथा दोस्रो हुने टिमले ३० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै तेस्रो हुनेले १५ हजार प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १६ वर्ष मुनिको विद्यालयस्तरीय फुटबल सञ्चालन भैरहेको छ । जिल्लाको मनहरी गाउँपालिका ३ सिद्धकालीमा नगद एकलाख रुपैयाँ राशीको प्रथम पुरस्कार रहेको खुला फुटबल भैरहेको छ भने मनहरी ३ मै चैनपुर जेसीज प्रस्तावितको आयोजनामा खुला फुटबल प्रतियोगिता जारी छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार ५५५ र २५ हजार ५२५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । योसहित जिल्लामा अहिले फुटबल, क्रिकेट तथा भलिबलका खेलहरु सञ्चालन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *